पोखरा, ११ चैत । काठमाडौँमा कोरोना संक्रमित बिरामी भेटिएपछि सरकारले भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ । यद्यपी अत्याआवश्यक सवारी साधान भने चल्न पाउनेछन् ।
सरकारले देशभरका नेपालीहरुलाई चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको हो । हिजो सोमबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन उल्लंघन गरेमा १ महिनादेखि ६ महिनासम्म कैद र एक सय देखि ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने निर्णय गरेको हो । अधिकृत व्यक्तिहरुलाई काममा बाधा पु¥याए ६ महिनादेखि ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने निर्णय गरेको हो ।
उक्त नियम ७७ वटै जिल्लामा लागू हुने र उक्त निर्देशनको अवज्ञा गरे संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने समितिले जनाएको छ ।
संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ । ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।’