नाकामा अलपत्र ९२६ जना नेपाल प्रवेश, १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने

-


     मर्दी न्युज    
     चैत्र ११ गते २०७६ मा प्रकाशित


पोखरा, ११ चैत । झण्डै २४ घण्टादेखि सीमा नाकामा अलपत्र परेका नेपालीहरुलाई आज एक दिनका लागि सरकारले नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । सो निर्णयसँगै धनगढीको त्रिनगर सीमामा अलपत्र परेका ९ सय २६ जना नेपालीलाई नेपाल आउन दिइएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले मंगलबारसम्म सीमा नाकामा जम्मा भएका नेपालीहरुलाई नेपाल प्रवेश गर्न अनुमति दिएसँगै नेपाल प्रवेश गरेको हो । बुधबारदेखि भने कसैलाई पनि प्रवेश नदिइने सरकारले बताएको छ ।

नेपाली नागरिकको प्रमाण र स्वास्थ्य परीक्षणपछि उनीहरुलाई नेपाल प्रवेश गराइने सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए । यसरी नेपाल प्रवेश गरेका उनीहरुले १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने पनि सरकारले निर्णय गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार विभिन्न १९ जिल्लाका ९२६ जना नेपालीलाई बसमार्फत् आ–आफ्नो गन्तव्य पठाउने गरेर नेपाल ल्याइएको बताए ।

सोमबार राति ८ बजे सीमामा आएका नेपालीहरुले मंगलबार दिनभर नेपाल प्रवेश पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । उनीहरु जबर्जस्ती नेपाल प्रवेश गर्ने प्रयास गर्दे सुरक्षाकर्मीमाथि ढुंगामुढा समेत प्रहार गर्न खोजेपछि मंगलबार बिहान केही समय सामान्य झडप पनि भएको थियो ।