
पोखरा, १२ चैत । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९०) संक्रमणबाट इटालीमा एकै दिन ७४३ को मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो । यससँगै इटालीमा कोरोना संक्रमणबाट ६ हजार ८२० जनाको ज्यान गइसकेको छ ।
इटलीमा आइतबार र सोमबार मृत्युको संख्या केही कमी देखिएको थियो । तर मंगलबार फेरि बढ्नाले चिन्ता थपिदिएको छ ।
चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटालीमा ६९ हजार १७६ मा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ८ हजार ३२६ निको भएका छन् ।
यसैगरी तीव्र रूपमा संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अमेरिका चीन र इटालीपछि अर्को इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीन र इटालीपछि अमेरिकामा बढी संक्रमण पुष्टि भएको छ । बुधवार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा ५४ हजार ८९३ संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा हालसम्म ७८३ ले ज्यान गुमाइसकेका छन् भने ३४८ निको भएका छन् ।
त्यस्तै बुधवार बिहानसम्म स्पेनमा संक्रमितको संख्या ४२ हजार ५८ जनामा पुष्टी भएको छ भने मृत्यु हुनेको संख्या २ हजार ९९१ जना पुगेको छ । निको हुनेमा ३ हजार ७९४ जना रहेका छन् ।
त्यस्तै अर्को बढी प्रभावित देशमध्ये जर्मनीमा संक्रमित ३२ हजार ९९१ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १५९ जना रहेका छन् र ३ हजार २९० जना निको भएको जोन्स हप्किन्स विश्वविद्यालय ले जनाएको छ ।
त्यस्तै इरानमा २४ हजार ८११ जना संक्रमणको पुष्टी भइसकेको छ । इरानमा हालसम्म १ हजार ९३४ जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजार ९१३ निको भएका छन् ।