पोखरा, १२ चैत । नेपालमा कोरोना भाइरस कोभिड–१९ बाट संक्रमण हुने तेस्रो व्यक्ति कतारबाट नेपाल आएर केही दिन होटलमा बसेको खुलासा भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गर्दै खुलासा गरेका हुन् ।
मन्त्री ढकालका अनुसार संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएक थिए । उनी धादिङका ३२ वर्षका पुरुष रहेको उनले जानकारी गराए । उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।
उनको स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखिएको थियो । यो सँगै नेपालमा कोभिड–१९ को सक्रमित संख्या तीन पुगेको छ ।