पोखरामा बुधवार ‘लकडाउन’ उल्लंघन गर्ने १ सय ६७ सवारीसाधन नियन्त्रणमा

-


     मर्दी न्युज    
     १२ चैत्र २०७६ मा प्रकाशित


पोखरा, १२ चैत । विश्वभर महामारीको रुप लिइरहेको कोभिड–१९ रोकथामका लागि सरकारले मंगलवारदेखि लागु गरेको ‘लकडाउन’ उल्लंघन गर्ने १ सय ६७ साना सवारी साधानलाई बुधवार कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमलाई न्यूनीकरण गर्न नेपाल सरकार तथा स्थानीय प्रशासनले गरेको आग्रहलाई वेवास्ता गर्दै पोखरा क्षेत्रमा चलाएका १ सय ६७ वटा मोटरसाइकल, स्कुटरलागायतका साना सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज दोस्रो दिन कम कारवाहीमा परेको हो । बजारका मुख्य सडकमा कम निस्केपनि भित्री सडकमा भने प्रहरीको आँखा छल्दै गुडेका देखिन्थे । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक सन्तोष रोकाले मंगलबार ३ सय ७५ र आज बुधवार साँझ ७ बजेसम्म १ सय ६७ सवारी साधनलाई नियन्त्रणमा लिएको मर्दीन्यूजलाई बताए । हिजो भन्दा आज कम कारवाहीमा परोस भन्ने हिसाबले कडाई गरेअनुसार आज केही कम भएको उनले बताए । लकडाउनको दोस्रो दिन सवारी साधनको डकुमेन्ट राखिएको बताउँदै उनले भने, ‘हिजो चाबी राख्यौं सचेत गर्दै साधन डोर्याएर घर पठायौ, आजबाट डकुमेन्ट राखेर कारवाही गरी छाड्छौं ।’

कोरोना संक्रमणले विश्वलाई नै हल्लाइरहेको सन्दर्भमा नेपालमा समेत प्रवेश भइसकेको अवस्था छ । यसलाई नियन्त्रण गर्ने भनेकै नागरिकको चेतना र सावधानीले मात्रै हो । तर आम नागरिरकले सरकारले गरेको ‘लकडाउन’को अर्थ गम्भीर रुपमा लिएको अझै देखिएन ।