पोखरा, १३ चैत । सरकारले कोरोना भाइरस नियन्त्रण गर्न नेपाल लकडाउन गरेपछि राउण्ड अन्नपूर्ण पदमार्ग र हिमाली जिल्ला मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको छ ।
अन्नपूर्ण पदमार्गको थोराङ पास गरेर मुस्ताङ आइपुगेका र मुस्ताङ घुम्न पुगेका गरी १ सय २१ पर्यटकको जिल्ला प्रशासन कार्यालय मुस्ताङले मंगलवारदेखि उद्धार गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।
प्रमुख अर्यालका अनुसार मुस्ताङबाट मंगलबार १३ जना, बुधबार ५१ जना पर्यटकलाई काठमाडौंको लागि पठाइसकिएकोमा आज बिहीबार ५७ जना पर्यटकलाई काठमाडौंको लागि पोखरा पठाइसकिएको अर्यालले जानकारी दिए । आजै बागलुङमा अलपत्र परेका एक जना अमेरिकी नागरिकलाई पनि सोही बसमा पोखरा ल्याउँदै गरेको ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए
अध्यक्ष भुजेलका अनुसार काठमाडौंसम्म बसमा लैजाने योजना भएपनि आज फ्रान्सेली दूतावासले पोखराबाट आफ्ना नागरिकलाई लैजान विमान चार्टर्ड गरेको बताए । बुद्ध एयरको ७२ जना सिट क्षमताको विमान चार्टर गरेर आफ्ना ६० नागरिकलाई काठमाडौं लैजान लागेको हो । बुद्ध एयरको विमान आज साढे तीन बजे पोखरा विमानस्थलमा ओर्लिसकेको छ ।
त्यसैगरी आज मुस्ताङबाट आएका पर्यटकलाई लिन भोलि शुक्रवार पनि हवाइ उडान हुने टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।
मुस्ताङबाट उद्धार गरिएका अधिकांश अमेरिकन, फ्रेन्च, जर्मन, इटालीयन, स्पेनिस पर्यटक रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।