
पोखरा, १५ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर २७ हजार ३३३ मानिसले ज्यान गुमाएका छन् । विश्वका १९७ देशका करिब ६ लाख जति यस भाइरसबाट संक्रमित हुन पुगेका छन् ।
शनिवार बिहानसम्म विश्वका ५ लाख ९५ हजार ९५३ जना यस भाइरसबाट संक्रमित छन् भने विश्वभर हालसम्म १ लाख ३१ हजार ७ मानिस निको भएर घर फर्किसकेको जोन्स् हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
अमेरिकाभर शनिबारसम्म १ लाख ४ हजार ७ जनामा यस भाइरस संक्रमणको पुष्टी भएको छ । एकै दिन १८ हजार ५२१ जना मानिसमा यसको संक्रमण फैलिएको हो । कोरोनाको उद्गमस्थल चीनको भन्दा अमेरिकामा तीब्र गतिमा भाइरस फैलिएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनको वुहान सहरबाट शुरु भएको कोरोना भाइरस चीन र युरोपपछि कोभिड–१९ को इपिसेन्टर अमेरिका बनेको छ ।
अमेरिकाभर १ हजार ६ सय ९३ मानिसको यस भाइरस संक्रमणका कारण ज्यान गएको छ भने ८७० जना निको भइ घर फर्केका छन् ।
त्यस्तै कोरोना संक्रमणबाट सबैभन्दा धेरै इटलीका ९ हजार १ सय ३४ मानिसको ज्यान गएको छ । इटलीमा हालसम्म कुल संक्रमितको संख्या भने ८६ हजार ४ सय ९८ रहेको छ ।

भारतमा कोभिड–१९ बाट चिकित्सकको मृत्यु
यता छिमेकी मुलुक भारतमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । शुक्रवार भारतको मुम्बईमा एकजना ८६ वर्षीय चिकित्सकको कोभिड–१९ को संक्रमणबाट ज्यान गएको छ । मुम्बईस्थित सैफी अस्पतालमा कार्यरत चिकित्सकको शुक्रबार मृत्यु भएको हो ।
अस्पतालले एक वक्तब्य जारी गरी महाराष्ट्र स्वास्थ्य सतर्कता विभाग र मुख्यमन्त्रीलाई चिकित्सकको कोभिड–१९ को संक्रमणले मृत्यु भएकोबारे जानकारी गराएको उल्लेख गरेको छ ।
प्रेस ट्रष्ट अफ इन्डियाले मधुमेह र हृदयरोगका बिरामी समेत रहेका चिकित्सकका दुईजना आफन्त पछिल्लो दिनमा बेलायतबाट फर्केको उल्लेख गरेको छ ।
महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार शुक्रबार मात्रै २८ जना संक्रमित थपिएको छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८८७ पुगेको सञ्चारमाध्यमहरुले जनाएको छ ।