गाउँगाउँमा भ्रमको महामारी : दलाई लामाको सन्देश भन्दै आँगन खन्दै गाउँले

-


     मर्दी न्युज    
     १५ चैत्र २०७६ मा प्रकाशित


घरको आँगन खन्दै बारपाक सुलीकोट ३ ठोट्नेरीका बासिन्दा । तस्वीर : सलिना गुरुङ ।

गाेरखा । दैलो अगाडि खाल्डो खन्दा निस्केको अँगार निधारमा लगायो भने कोरोनाले छुँदैन भन्ने भ्रामक सन्देश फैलिएपछि दुईदिनदेखि गोरखाका बिभिन्न गाउँका बासिन्दा अहिले आँगन खन्नमा व्यस्त छन् ।

धार्चे गाउँपालिका २ रुन्चेतमा दुईसय ६५ घरका बासिन्दाले खाल्डो खनिसकेका स्थानीय शिक्षक रामपति गुरुङले जानकारी दिए ।

‘हिजोदेखि यो हल्ला चलेको हो । हाम्रो गाउँको सबै घरको आँगन खनिसकेका छन्’, उनले भने, ‘आँगन खन्दा अँगार जस्तो चिज भेटिने रहेछ । अनि त्यो परिबारले निधारमा, घाँटीमा लगाएर हिडिरहेका छन् ।’ बिपतको बेला आत्तिएका सिधासाधा गाउँलेहरु मुक्ति पाउन जे गर्न पनि तयार हुने उनले बताए ।

केरौंजा गाउँमा पनि धमाधम खन्ने काम भइरहेको वडा अध्यक्ष सुकबहादुर गुरुङ बताउँछन् । ‘मेरो घरमा चाहिँ खनेको छैन । हाम्रो गाउँमा करिब तीनसय घर छन् । कोहीकोहीबाहेक प्राय सबै घरमा खनिएको छ’, उनले भने ।

धार्चे गाउँपालिका ३ का वडा अध्यक्ष इन्द्रप्रसाद गुरुङको परिबारले पनि आँगन खनेर कालो टिको लगाएका छन् । ‘हाम्रो गाउँमा त आँगन खन्नू भनेर कालो टिको लगाउनू भनेर हिजो कटुवाल करायो’, उनले भने, ‘आज त बिहानै तीनबजेदेखि अहिलेसम्म पनि आँगन खनिरहेका छन् । मेरो परिबारले पनि खनिसके ।’ गाउँलेको मन शान्त हुन्छ भने होओस् भनेर आफू पनि चुपचाप बसेको उनको भनाइ छ ।


आफ्नो गाउँमा पनि दलाइ लामाले पठाएको सन्देश भनेर सबैले दैलो खनेर निस्केको कालो टिका लगाउने गरेको बारपाक सुलीकोट गाउँपालिका ३ की शिक्षिका सलिना गुरुङले जानकारी दिइन् । दराैदी डट कम