लकडाउनका कारण अन्नपूर्ण क्षेत्र तथा पोखरामा रोकिएका पर्यटकहरु काठमाडौं फर्कने क्रम जारी

-


     मर्दी न्युज    
     १५ चैत्र २०७६ मा प्रकाशित


पोखरा, १५ चैत । कोभिड–१९ को संक्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लागू लकडाउन गरेकोमा अन्नपूर्ण पदमार्गमा रोकिएका पर्यटकलाई काठमाडौं पठाउने काम भइरहेको छ । नेपाल लकडाउन गरेपछि राउण्ड अन्नपूर्ण पदमार्ग र हिमाली जिल्ला मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको समाचार मर्दीन्यूजे निरन्तर दिंदै आइरहेको छ ।

यसै सन्दर्भमा बिहीबारदेखि अन्नपूर्ण पदमार्गका विभिन्न भागबाट उद्दार गरिएका पर्यटकहरु विभिन्न माध्यमबाट काठमाडौं तथा स्वदेश फर्किने क्रमपनि जारी छ ।

त्यस्तै आज शनिवार बिहान ११ बजे लेकसाइडको बाराहीचोकबाट एउटा पर्यटक बस विदेशी पर्यटक तथा स्वदेशी गाइडहरु र सहयोगीहरु लिएर काठमाडौं प्रस्थान गरेका छन् ।

पर्यटन प्रहरी पोखरा तथा नेपाल पर्यटन बोर्ड, क्राइसिस रेस्पोन्स टिममा जहाज मार्फत काठमाडौं जानको लागि नाम टिपाएका पर्यटकमध्ये आज जर्मनी र नेदरल्याण्डको ७० जना पर्यटकहरु लिएर श्री एयरलाइन्सको जहाज अहिले १२ बजे पोखरा विमानस्थलबाट उडेको विमानस्थल स्रोतले बतायो । गाडीमार्फत काठमाडौं जानेलाई प्रति व्यक्ति एक हजार भाडादर तोकिएको छ भने जहाजबाट जानेलाई पनि नियमानुसार भाडा लाग्ने जनाइएको छ ।

आजै श्री एयरलाइन्सको अन्य २ वटा उडान पनि सम्बन्धित देशमा फर्कउनका लागि पर्यटक लिन आउने कुरा टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले मर्दीन्यूजलाई बताए ।

कोभिड–१९ को संक्रमण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेकोमा अन्नपूर्ण पदमार्गमा रोकिएका पर्यटकलाई बिहीबारदेखि काठमाडौं पठाउने काम भइरहेको छ । सोही अनुसार बिहीबार ५९ पर्यटकलाई बुद्ध एयरले र शुक्रवार यति एयरलाइन्सले ५८ जना विदेशी नागरिकलाई पोखराबाट काठमाडौं पठाइ सकेको छ ।