मिलेनियम पदमार्ग प्रवर्द्धनकाे पहिलो चरणअन्तर्गतको भिडियो सार्वजनिक

-


     मर्दी न्युज    
     १५ चैत्र २०७६ मा प्रकाशित


Ghumante Team- Mardi News

फाइल तस्विर

पोखरा, १५ चैत । मिलेनियम पदमार्गको प्रबद्र्धनको लागि मण्डलाआईटी सोलुसनसँग सहकार्य गरी अघि बढेको व्यवस्थापन समिति सोलुसनमार्फत आएको ‘घुमन्ते’ समूहले करिब ४ महिनापछि पहिलो चरणअन्तर्गत भुजीकोटदेखि साँदीखोलासम्मको भिडियो आफ्नो युट्युबमार्फत शुक्रवार सार्वजनिक गरेको छ ।

गत मंसिर २२ गतेदेखि तनहुँ शुक्लागण्डकीको भुजिकोटबाट ‘घुमन्ते’को समूहलाई लिई व्यवस्थापन समिति तथा सोलुसनको टीम मिलेनियम पदमार्गमा निस्केको थियो । देशका विभिन्न पर्यटकीय स्थल तथा पदमार्गको भिडियो उत्पादन गरी प्रचारप्रसार गर्दै आएका ‘घुमन्ते’ समूहले मिलेनियम पदमार्गको पहिलो चरणअन्तर्गत ४१ मिनेटको भिडियो तयार गरेको छ ।

तनहुँको पर्यटकीय गाउँ भुजीकोटसहित पदमार्गको सुरुवाती ठाउँ दुलेगौंडाको गाछेपानीस्थित मुक्तिनाथ धाम, रक गार्डेन, तिब्बतीयन क्याम्प, ढोरबराही मन्दिर, ऐतिहासिक ठाउँ रजस्थल, लामागाउँ, घरेडी, तनहुँको सिमाना स्याङ्जाको साँदीखोलासम्मको पर्यटकीय, साँस्कृतिक तथा जनजीवनको विषयवस्तु समेटी भिडियो तयार पारेको छ ।

घुमन्तेले दोस्रोचरण अन्तर्गत अर्को भिडियो तयार पार्दै गरेको मण्डलाआईटी सोलुसनका सञ्चालक निशाल गुरुङले बताए ।

मिलेनियम पदमार्ग तनहुँको शुक्लागण्डकी गाछेपानीबाट शुरु भई स्याङ्जाको वालिङ रामबाच्छासम्म ७२ किलोमिटर छ । यो पदमार्ग जुनसुकै मौसमको लागि पनि उपयुक्त मध्यपहाडी पदमार्ग हो ।


सन् २००० बाट खुलेकोले यसको नाम पनि मिलेनियम (सहस्राब्दी) राखिएको हो । पदयात्रा मार्गले तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाका पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिका छोएको छ । ६ रात ७ दिनमा पदमार्ग पूरा गर्न सकिन्छ ।

पदयात्रा पुग्ने पर्यटकले कोल्माकोट, भैंसेगौंडा, फारथुँ, बुढाकोटबाट एकसाथ धवलागिरी, अन्नपूर्ण हिमश्रृंखला, माछापुच्छ«े, लमजुङ हिमाल, गणेश हिमाल, मनास्लु हिमालको दृश्यावलोकन गर्न पाउँछन् ।


पदयात्रा मार्गमा १७ गाउँमा सामुदायिक होमस्टे छन् । पर्यटकले होमस्टेमा स्थानीय परिकारको स्वाद लिन पाउँछन् । कोरोना भाइरस संक्रमणका कारण यतिबेला पदमार्गका होमस्टेहरु बन्द गरिएको समितिका सदस्य तथा भैंसेगौंडा सामुदायिक होमस्टेका अध्यक्ष समेत रहेका बालकुमार गुरुङले बताए ।