पोखरामा रहेका दुई सय पर्यटक नौवटा सवारी साधानमार्फत काठमाडौं प्रस्थान

-


     मर्दी न्युज    
     चैत्र १५ गते २०७६ मा प्रकाशित


mardi news

तस्विरहरुः खेम गुरुङ

पोखरा, १५ चैत । कोरोना भाइरसको विश्वब्यापी जोखिमपछि पोखरामा रहेका पर्यटक फर्कने क्रम आज दिउँसो पनि जारी रहेको छ । पोखरामा रहेका र अन्नपूर्ण पदयात्रा क्षेत्रबाट फर्किएका करिब ४ सय पर्यटक शनिबार चार्टड जहाज र रिजर्भ पर्यटक बसबाट काठमाडौं गएका छन् ।

पोखरा पर्यटन परिषद नाटा र नेपाल पर्यटन बोर्ड पोखराको संयोजनमा पोखरामा रहेका पर्यटकलाई जहाज र पर्यटन बसबाट काठमाडौं पठाइएको हो । विश्वव्यापी फैलिएको कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न नेपाल पाँच दिनदेखि ‘लकडाउन’मा छ ।

अन्नपूर्ण पदयात्रा क्षेत्रमा पर्यटकसंगै गएका पर्यटन गाईड, सहयोगी मजदुरलाई पनि पर्यटकसँगै काठमाडौं जाने व्यवस्था मिलाइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरजिञ्जवी पोखरेलले जानकारी दिए ।

आज दिउँसो साढे दुई बजे लेकसाइडको विभिन्न होटल तथा गेष्ट हाउसमा रहेका पर्यटक, उनीहरुसँगै गएका गाइड तथा सहयोगीहरु गरी २०० जना लिएर रिजर्भ गरिएका नौवटा टुरिष्ट बस काठमाडौंको लागि प्रस्थान भैसकेको कुरा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरजिञ्जवी पोखरेलले जानकारी दिए ।

पर्यटन बसमा शनिबार काठमाडौं जाने दुई सयमध्ये २५ देशका ७० प्रतिशत विदेशी पर्यटक र ३० प्रतिशत नेपाली पर्यटन मजदुर रहेको पनि उनले बताए । ४ बटा ठूला बस र ५ वटा कोस्टरमा गरेर २ सय जनालाई शनिबार काठमाण्डौं पठाइएको हो ।

त्यस्तै आज शनिवार बिहान ११ बजे लेकसाइडको बाराहीचोकबाट एउटा पर्यटक बस विदेशी पर्यटक तथा स्वदेशी गाइडहरु र सहयोगीहरु लिएर काठमाडौं प्रस्थान गरेका छन् ।

यसै गरी शनिबार पोखरा विमानस्थलबाट नेपाल पर्यटन बोर्डले संयोजन गरेर चार्टड गरिएको श्रीएयरको पहिलो फ्लाईटबाट ६९ पर्यटक र दोस्रो फलाईटबाट ४५ जना पर्यटक काठमाडौं गएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले जानकारी दिए ।

पोखराबाट गत बिहीबार बुद्ध एयरको विमानबाट ५९ जना पर्यटक काठमाडौं गएका थिए भने शुक्रबार यति एयरको विमानबाट ५८ जना पर्यटक काठमाडौं गएका थिए । तस्विरहरुः खेम गुरुङ