नेपाल आइपुग्यो सरकारले किनेको र सहयोग प्राप्त स्वास्थ्य सामग्री

-


     मर्दी न्युज    
     १६ चैत्र २०७६ मा प्रकाशित


पोखरा, १६ चैत । कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज आइतबार बिहान काठमाडौं आइपुगेको छ ।

संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिन चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी आइतबार बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

कोरोना परीक्षण किट, पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं आएको एयरलाइन्सले जनाएको छ ।

यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सिचुआन प्रान्त सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्रीहरू, पीपीई, थर्मो्मिटरलगायत सामान बोकेर चिनियाँ जहाज काठमाडौं प्रस्थान गरेको ट्वीटरमार्फत जानकारी दिएकी छन् ।

सोही जहाजमा चीनको ज्याक मा फाउन्डेसनले सहयोग गरेको सामग्री पनि आइपुगेको छ । त्यस्तै सोही जहाजमा ललितपुरमा रहेको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरी नेपाल मगाएको हो । सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मो्मिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेको स्रोतले जनाएको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज सामग्री लिन शनिबार मध्याह्न ग्वाङ्झाओ गएको थियो ।