अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध ३ वैशाखसम्म लम्बियो

-


     मर्दी न्युज    
     १६ चैत्र २०७६ मा प्रकाशित


काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध आउँदो २०७७ वैशाख ३ गतेसम्म लम्ब्याएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना भाइरस (कोभिड–१९) भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको आज आइतबार बसेको बैठकले अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकमा कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको प्रयासबाट नागरिकलाई परेको प्रभावबारे विभिन्न कोणबाट छलफलसमेत भएको स्रोतले जनाएको छ ।

उक्त समन्वय समितिले लकडाउनलाई थप ७ दिन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो । आज नै बस्ने मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसलाई अनुमोदन गर्ने बताइएको छ ।