पोखरा, १९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट उद्गमस्थल मानिएको चीनमा भन्दा अमेरिकामा धेरै मानिसको ज्यान गएको छ ।
जोन्स् हप्किन्स विश्वविद्यालयका अनुसार बुधवार बिहानसम्म अमेरिकामा ३ हजार ९०० मानिसको ज्यान गएको छ । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी हो । चीनमा हालसम्म ३ हजार ३ सय १० मानिसको ज्यान गएको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै ८ सय १५ जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् । जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो । त्यस्तै अमेरिकामा संक्रमितको संख्या झण्डै २ लाख पुगेको छ । बुधवार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या १ लाख ८९ हजार ३५ पुगेको छ भने निको हुनेको संख्या ७ हजार ९६ पुगेको छ ।
चीन र युरोपपछि कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या पनि बढ्दो क्रममा छ । सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा २४ हजार ७४२ जना नयाँ संक्रमित थपिएको छ ।
गत वर्षको डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म ४२ हजार १५१ मानिसको ज्यान गएको छ । ८ लाख ५८ हजार ७८५ मानिसमा यसको लक्षण देखापरेको छ । १ लाख ७८ हजार ११९ जना निको भएर घर फर्किसकेको छ ।