विश्वव्यापीरूपमा फैलिएको काभिड–१९ विरुद्ध लड्न सामूहिक प्रयासको आवश्यकताः मुख्यमन्त्री गुरुङ

-


     मर्दी न्युज    
     १९ चैत्र २०७६ मा प्रकाशित


पोखरा, १९ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा उपचारका लागि सबैको सामूहिक प्रयासको आवश्यक औंल्याएको छ ।

नेपालीको महत्वपूर्ण संस्कृतिक पर्व चैतेदशैँको उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उनले महामारीबाट विश्व समुदायलाई नै गम्भीररूपमा प्रभावित गरिरहेको सन्दर्भमा नेपाल पनि प्रभावमुक्त रहन नसकेकाले संक्रमणबाट बच्न र बचाउन सम्पूर्ण नागरिक एकताबद्ध भएर लाग्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक गणतन्त्र सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको सामानुपाति शासन व्यवस्था नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको उपलब्धि हुन् । बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवम् साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिंदै आएका छन् । यस पर्वले पनि विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने गर्ने अपेक्षा लिएको छु ।’

कोरोना भाइरसको उपचारको विश्वसनीय विकल्पको अविष्कार भैनसकेको वर्तमान अवस्थामा यस संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठन र सरकारले जारी गरेका सूचनाहरुलाई जीवनशैलीको रुपमा अपनाई कुनै हलचक्राइँ नगरी पालना गर्न सन्देशमार्फत आग्रह गरेको छ । ‘मानव जातिकै अस्तित्वको लागि चुनौती बनेर आएको विश्व मानव जातिकै शत्रु कोरोना भाइरस रोग (कोभिड–१९) का विरुद्धमा एकताबद्ध भई जुध्न एवम् सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारी जुट्न यस चैते दशैं पर्वले हामी सबैलाई प्रेरित गर्न सकोस्’ सन्देशमा उल्लेख छ ।