मेडिकल सामग्री खरिद गर्न ओम्नी समूहसँग भएको सम्झौता रद्द

-


     मर्दी न्युज    
     १९ चैत्र २०७६ मा प्रकाशित


पोखरा, १९ चैत । सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्द गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको हो । उनकाअनुसार यो समूहले पहिलो लटमा ल्याउने भनेअनुसार सामान ल्याउन नसकेको उल्लेख गर्दै भने, ‘भोलिसम्म दोस्रो लटको सामान ल्याउनु पर्ने थियो तर अहिलेसम्म ल्याउन सक्ने सम्भावना कत्ति पनि छैन ।’

यो समूहले कहिले ल्याउँछ पनि नभनेकाले रद्द गर्नु परेको श्रेष्ठले बताए । साथै ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए।

उक्त समूहले सरकारसँग भएको सम्झौताको भने जति सामान पनि ल्याउन नसकेको र पहिलो लटमा कुल कबोलको १८ प्रतिशत मात्र सामान ल्याएकोले पनि रद्द गरेको स्पष्ट पारे ।

महानिर्देशक श्रेष्ठले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।