सामाजिक दूरीः पोखराको फलफूल तथा तरकारी थोकबजारमा देखिएन (फोटो फिचर)

-


     मर्दी न्युज    
     २१ चैत्र २०७६ मा प्रकाशित


पोखरा, २१ चैत । विश्वभरि चिकित्सक र सम्बद्ध विशेषज्ञले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित फैलावट रोक्न सामाजिक दूरी (सोसल डिस्टेन्स) कायम गर्न सुझाव दिइरहेका छन् । तर हरेक दिन किनमेलका लागि खाद्यान्न, तरकारी र माछामासु पसलमा मानिसको घुइँचो देखिन्छ । किनमेल वा बाटोमा हिँड्ने क्रममा पनि एकअर्काबीच दूरी कायम गरेको देखिँदैन । सीमित ठाउँमा मात्र पसल तथा नगरपालिकाले सामाजिक दुरी निर्धारण गरिराखेको देखिन्छ ।

विशेषज्ञका अनुसार कोभिड–१९ मानिसबाट मानिसमा सर्ने भएकाले संक्रमितले खोक्दा वा बोल्ने क्रममा थुक निस्किएर अर्को व्यक्तिको मुख, नाक र आँखामा पर्न सक्ने हुनाले संक्रमण फैलने सम्भावना हुन्छ । त्यसैले सोसियल डिस्टेन्स (दूरी) कायम गर्नुपर्ने भएको हो । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले ६ फिट र डब्लूएचओले एक मिटर दुरी भनेका छन् ।

मानिसबीचको दूरी कायम गर्नुपर्ने सन्देश अहिले सबैका मोबाइलको रिङब्याक टोनमा समेत छ तर बजारमा निस्किएकाहरूले त्यस्तो सन्देशलाई बेवास्ता गरेका छन् । भीडभाड नहोस् र संक्रमण नफैलियोस् भनेर नै सरकारले ११ देखि लागू गरेको लकडाउनलाई लम्ब्याई २५ गतेसम्म पु¥याएको छ ।

लकडाउनको आज ११ औं दिनसम्म आइपुग्दा दिनभरि घरभित्र रहेका सर्वसाधारण विगतका नेपाल बन्द खुलेपछि किनमेल गर्न गएजस्तै बेलुकीपख समूहमा बजारमा निस्कने गरेका छन् । त्यस्तै बिहान पनि ‘मर्निङ वाक’ मा निस्कनेको संख्या पनि त्यत्तिकै देख्न सकिन्छ ।

सकेसम्म घरबाटै बाहिर ननिस्किनु कोभिड–१९ को संक्रमणबाट बच्ने उत्तम उपाय हुने विशेषज्ञले बताइरहँदा आज शुक्रवार पोखराको फलफूल तथा तरकारी थोकबजारमा हामीले गएर हेर्दा त्यस्तो पाइन । त्यसैगरी दैनिक मजदुरी गर्ने रामघाटका मजदुरहरुलाई लकडाउनले प्रभाव पारेको पनि देखिएन ।
तस्विरहरुः खेम गुरुङ