कोरोनाभाइरस: सङ्क्रमण फैलनबाट रोक्न मास्क कति उपयोगी

-


     मर्दी न्युज    
     २१ चैत्र २०७६ मा प्रकाशित


के अनुहारमा प्रयोग गर्ने मास्क लगाउँदा कोरोनाभाइरसको सङ्क्रमण फैलने गतिलाई कम गर्न सकिन्छ? यो प्रश्नको जवाफ विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका सल्लाहकारहरूको एउटा समूहले खोज्ने भएको छ।

खोक्दा वा हाच्छिउँ गर्दा विगतमा भनिए भन्दा परसम्म भाइरस उछिटिन्छ कि उछिटिँदैन भनेर उक्त समूहले अध्ययन गर्नेछ।

यसअघि अमेरिकामा गरिएको एउटा अध्ययनले खोकी ६ मिटर र हाच्छिउँ ८ मिटरसम्म पुग्न सक्ने भनेको थियो।

उक्त अनुसन्धान समूहका अध्यक्ष प्राध्यापक डेभिड हेमनले बीबीसीलाई नयाँ अध्ययनले मास्कबारे विगतमा दिइएका सुझावमा परिवर्तन ल्याउन सक्ने बताए।

डब्लूएचओका पूर्वनिर्देशक रहेका उनी भन्छन्, “डब्लूएचओले नयाँ प्रमाणहरू हेरेर मास्क प्रयोगसम्बन्धी आफ्ना सुझावहरू परिमार्जन गर्नुपर्छ कि पर्दैन भन्नेबारे छलफल आरम्भ गरेको छ।”

अहिलेको सुझाव के छ?

डब्लूएचओले सङ्क्रमणबाट जोगिन खोकी रहेका वा हाच्छिउँ गरिरहेका व्यक्तिहरूबाट कम्तीमा एक मिटर परै बस्न सुझाव दिँदै आएको छ।

उसले बिरामी परेका र लक्षणहरू देखिएका व्यक्तिलाई मास्क लगाउन सुझाव दिएको छ।

तर उसले सङ्क्रमण भएको शङ्का लागेका व्यक्तिहरूको स्याहारसुसार गरिरहेका वा आफैले खोकिरहेको वा हाच्छिउँ गरिरहेको अवस्थामा मात्रै स्वस्थ मानिसले मास्क प्रयोग गर्नुपर्ने भन्दै आएको छ।

उसले निरन्तर हात धुने र प्रयोग गरिसकेपछि राम्ररी व्यवस्थापन गरेर मात्रै मास्क लगाउनु परिणाममूलक हुने उल्लेख गरेको छ।

ब्रिटेन र अमेरिकासहित कतिपय देशले २ मिटर सामाजिक दूरी कायम गर्न सुझाव दिएका छन्।

उनीहरूले थुकको छिटाबाट भाइरसहरू फैलनसक्ने प्रमाणका आधारमा ती सुझाव दिएका हुन्। अधिकांश त्यस्ता छिटा हावामा मिसिने वा जसले निकालेको हो त्यही मानिस नजिकै खस्ने गर्छ।

नयाँ अनुसन्धानले के देखाएको छ?

अमेरिकास्थित म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी, एमआइटीका अनुसन्धानकार्ताहरूले हाइ स्पीड क्यामेरा र अरू सेन्सरहरूको प्रयोग गरी खोकेपछि वा हाच्छिउँ गरेपछि ठ्याक्कै के हुन्छ भन्ने अध्ययन गरेको थियो।

खोकी
नयाँ अध्ययनले खोकी र हाँच्छिउका क्रममा छिट्टाहरू अझ टाढासम्म पुग्नसक्ने देखाएको छ

त्यसक्रममा स्वास बाहिर निस्कँदा एकदमै द्रुत गतिमा फैलने ग्यासको समूहको सिर्जना हुन्छ जसमा फरकफरक आकारका थुकका छिटाहरू हुन्छन्, र तीमध्येका सबैभन्दा सानो आकारका छिटा निक्कै परसम्म पनि जान सक्ने उनीहरूले पत्ता लगाएका छन्।

प्रयोगाशालामा गरिएको अध्ययनले खोक्दा निस्किएको थुक ६ मिटर परसम्म र हाच्छिउँको बेलामा अझ द्रुत गतिमा छिटा ८ मिटरसम्म पुग्ने देखाएको छ।

यसको प्रभाव के हुन्छ?

उक्त अध्ययनको नेतृत्व गरेकी एमआइटीकी प्राध्यापक लीडीया बुरोइबाले अहिले भनिएको सुरक्षित दूरीको अवधारणाप्रति आफूलाई चिन्ता लागेको बताएकी छन्।

उनले सास फेर्दा वा खोक्दा वा हाच्छिउँ गर्दा परसम्म जान सक्ने गति भएको ग्यासको गुजुल्टो बन्ने र त्यसभित्र फरक फरक आकारका छिटाहरू जम्मा हुने अनि त्यो कोठाभरी फैलन सक्ने बताइन्।

“त्यही भएर ती छिटा कुनै तरिकाले भुइँमा खस्छन् भन्ने आधारमा एक वा दुई मिटर पर बस्दा सुरक्षित हुने भन्ने गलत अवधारणा हामीले प्रत्यक्ष अध्ययन वा मापन गरेको विवरणसँग मिल्दोजुल्दो छैन।” बीबीसी