कोरोना भाइरसको संक्रमणः मृतकको संख्या ५५ हजार नाघ्यो

-


     मर्दी न्युज    
     २१ चैत्र २०७६ मा प्रकाशित


पोखरा, २१ चैत । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ भने विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० लाख ३९ हजार नाघेको जोन हप्किन्स विश्वविद्यालय जनाएको छ । विश्वविद्यालयका अनुसार विश्वका १० लाख ३९ हजार १६६ जना संक्रमित छन् भने ५५ हजार ९२ मानिसले ज्यान गुमाएका छन् ।

त्यस्तै कोभिड–१९ संक्रमणबाट अमेरिकामा सबैभन्दा धेरै २ लाख ४५ हजार ६४६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमणबाट ६ हजार ६८ मासिनले ज्यान गुमाएको छ । यसैगरी अमेरिकापछि स्पेनमा १ लाख १७ हजार ७१० जना संक्रमित छन् १० हजार ९३५ जनाले ज्यान गुमाएको छ ।

कोरोना भाईरसका कारण विकसित मुुलुुकहरुमा मानिसहरुको मृत्यु हुने क्रम बढिरहेसगैं विश्वको अर्थतन्त्र पनि ओरालो लाग्ने क्रम जारी छ । यससगैं युरोपमा करिब १० लाख मानिसको रोजगारी गुमेको छ भने अमेरिकामा यही दुई हप्ताभित्र १ करोड मानिस बेरोजगार बनेका छन् ।

यसैबीच, विश्व स्वास्थ्य सगंठनले मध्य पूर्वी देशहरुले कोरोना रोकथामका लागि जतिसक्दो चाँडो प्रभावकारी कदम चाल्न आह्वान गरेको छ । गत हप्ताको तुलनामा एकै हप्ताभित्र संक्रमितको सख्यां दोब्बर भएपछि सगंठनले यस्तो आह्वान गरेको हो ।