भारत । भारतमा कोरोना भाइरसको संक्रमणको संख्या पछिल्लो २४ घण्टामा ६०१ मा देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को एकैदिन देखिएको संक्रमित संख्या हालसम्मकै धेरै भएको हिन्दुस्तान टाइम्स्को अनलाइन संस्करणले जनाएको छ ।
संक्रमितको संख्या बढेसँगै एकैदिनमा १२ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै भारतमा मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा कुल संक्रमितको संख्या २ हजार ९०२ पुगेको जनाएको छ । अहिलेसम्मको विवरणमा दिल्लीस्थित निजामुद्दीन क्षेत्रको धार्मिक सभामा सहभागी १७ राज्यका १ हजार २३ जनामा संक्रमणको पुष्टी भएको बताइएको छ ।
त्यस्तै अहिलेसम्म धेरै मृत्यु हुनेको संख्या महाराष्ट्रमा रहेको देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यसपछि धेरै गुजरातमा नौ जनाको मृत्यु भएको छ भने तेलङ्गनामा सात जनाको मृत्यु भएको विवरण छ । त्यसैगरी मध्य प्रदेश र दिल्ली प्रदेशमा छ÷छ जना, पन्जावमा पाँच, कर्नाटक र पश्चिम बङ्गालमा तीन÷तीन जना र जम्मु तथा काश्मिर, उत्तर प्रदेश र केरलामा दुई÷दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आन्द्र प्रदेश, तमिलनाडु, बिहार र हिमाञ्चल प्रदेशमा कोरोना भाइरसका कारण एक÷एक जनाको मृत्यु भएको छ । कुल सङ्क्रमित दुई हजार ९०२ जना मध्ये ५५ जना विदेशी रहेका छन् । सङ्क्रमितको सङ्ख्या पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएको छ ।