काठमाडौं, २३ चैत । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय संकटका बेला पार्टी राजनीतिभन्दा माथि उठेर जनसेवा गर्नुपर्ने बताएका छन् । उनले आइतबार ट्वीट गर्दै नेपाल कोरोना भाइरसका कारण आक्रान्त र असुरक्षित भएकोबेला राष्ट्रिय संकट समाधान गर्न पार्टी राजनीतिभन्दा माथि उठेर जनसेवा गर्नुपर्ने बताएका हुन् ।
नेता कोइरालाले अहिले मध्यावधि निर्वाचन माग्नु पनि ठीक नभएको बताएका छन् । उनले ट्वीटमा भनेका छन्– ‘अहिले मध्यावधि निर्वाचन माग्नु ठीक होइन ।’
केही दिनअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संकटका बेला दुनियाँमा सहमतिको सरकार बनाएर जाने पनि चलन छ भन्ने अभिव्यक्ति दिएका थिए । साथै पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले मध्यावधि चुनाव हुनुपर्ने बताएको दाबीसहित खबर पनि आएका थिए ।
‘यतिबेला नेपाल कोरोना भाइरसका कारण आक्रान्त र असुरक्षित छ । राष्ट्रिय संकट समाधान गर्न सरकारका राम्रा कार्यमा सहयोग, नराम्रा कार्यमा आलोचना र जनतालाई सुसूचित गर्न प्रतिपक्षको भूमिका हो,’ उनले भनेका छन्– अहिले पार्टी राजनीतिभन्दा माथि उठेर जनसेवा गर्नुपर्छ । अहिले मध्यावधि निर्वाचन माग्नु ठिक होइन ।’