
पोखरा, २३ चैत । नेपालमा अहिलेसम्म १५ सय २९ जनामा कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबारसम्म १५ सय २९ जनाको कोरोना परीक्षण भएको हो । परीक्षण भएकामध्ये ९ जनामा कोरोना पुष्टि भएको छ ।
‘उपत्यका बाहिर ६ ठाउँमा कोरोना परीक्षण सुरु भएको छ’, प्रवक्ता देवकोटाले भने, ‘धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौंडा र धनगढीमा परीक्षण भइरहेको छ ।’ प्रवक्ता देवकोटाले नियमित पत्रकार सम्मेलनमा भने, ‘उपत्यकामा १२ र उपत्यका बाहिर १०१ गरेर १ सय १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।’
देवकोटाका अनुसार बुटवलमा सोमबारबाट परीक्षण सुरु हुनेछ भने चितवनमा आज आइतबारबाटै परीक्षण सुरु भएको जनाएको छ । चितवनमा परीक्षण सुरु भएपछि उत्पत्यका बाहिर सात ठाउँमा टेष्ट सुरु भएको उनले जनाए ।
कोरोना संक्रमित ९ जनामध्ये एकजना उपचारपछि निको भएका छन् । चार जनाको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा, दुई जनाको बागलुङ र दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ ।