क्वारेन्टाइन पूरा गरेकालाई स्वास्थ्य परीक्षण गरेर मात्र घर पठाइने
काठमाडौं, २३ चैत । सरकारले स्वास्थ्य सामग्री खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनको व्यवस्थामै टेकेर गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समिति बैठकले स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत खरिद गर्ने र अपुग भएमा सरकाररले सोझै खरिद गर्ने निर्णय गरेको हो ।
सार्वजनिक ऐन बमोजिम विशेष परिस्थितीमा विदेशी सरकारबाट सिधै जी टू जीमार्फत खरिद गर्ने व्यवस्था अनुसार यस्तो निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।
त्यसैगरी समितिले १४ दिनसम्म क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण भएपछि मात्रै घर जान दिने निर्णय गरेको छ । परीक्षणमा कुनै बिरामी देखिए आइसोलेसनमा राख्ने सचिव विडारीले जानकारी दिए । यसअघि क्वारेन्टाइनमा १४ दिन बसेर लक्षण नदेखिएकालाई परीक्षण नगरी पठाउने गरेको थियो ।
यसैगरी समितिले कोरोनाविरुद्धको अभियानमा ५० हजार ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । त्यसरी परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बीमा व्यवस्था हुने सचिव बिडारीले जानकारी दिए ।