कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ हजार नाघ्यो

-


     मर्दी न्युज    
     २५ चैत्र २०७६ मा प्रकाशित


पोखरा, २५ चैत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७४ हजार नाघेको छ । मंगलवार बिहानसम्म कोरोना भाइरस संक्रमणका कारण कुल ७४ हजार ६७९ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएका छन् ।

विश्वभर १३ लाख ४६ हजार २९९ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ भने २ लाख ७६ हजार ६३६ निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा संक्रमित छन् । अमेरिकामा आज बिहानसम्म ३ लाख ६७ हजार ५०७ जना यो भाइरसबाट संक्रमित छन् भने १० हजार ९०८ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै अमेरिका पछि स्पेन दोस्रो धेरै संक्रमित भएको मुलुकमा परेको छ । स्पेनमा १ लाख ३६ हजार ६७५ जना यो भाइरसबाट संक्रमित छन् । १३ हजार ३४१ मानिसले कोरानाका कारण स्पेनमा ज्यान गुमाइसकेका छन् ।

त्यस्तै विश्वमा सबैभन्दा धेरै नागरिक गुमाउनेमा इटली पर्दछ । इटलीमा १६ हजार ५२३ जनाको मृत्यु भएको छ भने १ लाख ३२ हजार ५४७ जना कोरोनाबाट संक्रमित हुन पुगेका छन् ।

त्यस्तै जर्मनीमा पनि संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । जर्मनीमा हालसम्म १ लाख ३ हजार ३७४ जना कोरोनाबाट संक्रमित छन् भने १ हजार ८१० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै फ्रान्समा पनि संक्रमितको संख्या १ लाख पुग्न लागेको छ । फ्रान्समा अहिले बिहानसम्म ९८ हजार ९८४ जना संक्रमित छन् भने ८ हजार ९२६ जनाले भाइरसका कारण ज्यान गुमाएको उक्त विश्वविद्यालयले उल्लेख गरेका छन् ।

नेपालमा ९ जना संक्रमित देखिएकोमा एक जना निको भएर घर फर्किसकेका छन् । उपचाररत ८ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।