कोरोना अस्पतालमा मृत्यु भएका थापाको ११ दिनपछि शव उठ्यो

-


     मर्दी न्युज    
     चैत्र २६ गते २०७६ मा प्रकाशित


बुटवल । बुटवलको कोरोना अस्पतालमा चैत १६ गते ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेका छन् । बुधबार भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवार सहमत भएका हुन् ।

पूर्वसभासद् विनोद पहाडी, पाल्पाली समाजका अध्यक्ष पदम कार्की, रिब्दीकोट समाजका समुन्द्र जिसी, मानवअधिकारकर्मी गोविन्द खनालको पहलमा आफन्त र परिवार शव बुझ्न सहमत भएका हुन् ।

बुधबार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएको छ । वार्तामा मृतकका परिवारलाई दिने गरी आधारभूत राहत कोष बनाउने सहमति भएको छ, जसमा शुरुमा ५ लाख ५ हजार रकम रहनेछ ।

प्रदेश सरकारको पहलमा मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निशुल्क पढाउने सहमति भएको बैठकमा सहभागी संविधानसभाका सदस्य विनोद पहाडीले जानकारी दिए ।

मृतकका परिवारलाई सामाजिक संघसंस्थाले ८ लाख राहत दिनेसमेत निर्णय भएको छ । पाल्पाली समाजले ५ लाख ५० हजार, टण्डन समाजले १ लाख ५० हजार र थापा समाजले १ लाख राहत जुटाएर परिवारलाई दिने सहमति भएको छ ।