हरिन्द्र गुरुङको परिवारद्वारा २१ परिवारलाई खाद्यान्न वितरण

-


     मर्दी न्युज    
     २७ चैत्र २०७६ मा प्रकाशित


स्याङ्जा, २७ चैत । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–२ का दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुको घरमा चुलो बल्न छोडेपछि वडाका हरिन्द्र गुरुङको परिवारले बुधवार खाद्यान्न सामग्री वितरण गरेका छन् ।

नगरपालिकाका –२ का २१ अतिविपन्न, असहाय तथा दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउनेका लागि वडानिवासी हरिन्द्र गुरुङ, श्रीमती मिनाकुमारी गुरुङ, छोराहरु मार्क गुरुङ र मार्टिन गुरुङले खाद्यान्न वितरण गरेको हो ।

चामल, तेल, आलु, दाल, चिनी, नुन, चिया, प्याज, साबुन गरी करिब २५ हजार बराबरको खाद्यान्न सामग्री २१ परिवारलाई वितरण गरिएको मिलेनियम ट्रेकका सदस्य तथा भैंसेगौंडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी गराए ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले गरेको देशव्यापी लकडाउनका कारण दैनिक ज्यालामजुरी गर्न नपाएपछि उनीहरूलाई समस्या भएको हो ।

‘राहातले हामीलाई ठूलो सहयोग भएको छ । मेलापात गरेर, ज्याला मजदुरी गरेर चामल किन्ने गरेका थियौँ, आजभोलि त्यो सबै बन्द भएको छ । केही दिन चुलो बाल्न सहयोग हुँने भयो ।’ राहात प्राप्त गरेका परिवारहरुले भने ।