काठमाडौं । सरकारले कालोबजारी आरोपमा पक्राउ परेका किर्गिस्तानका मानार्थ अवैतनिक दूत सुलभ अग्रवालको पद खारेज गरेको छ । यसका साथै परराष्ट्रमन्त्रालयले नेपालस्थित अवैतनिक वाणिज्य दूतहरू (अनररी काउन्सुलर) लाई दिइएको केही सुविधामा रोक लगाएको छ ।
कूटनीतिक सुविधाको दुरुपयोग गर्दै ५ हजार बजार मूल्यको ज्वरो नाप्ने थर्मल गन १५ हजारमा बिक्री गरेको आरोपमा मंगलबार पक्राउ परेका अग्रवालको पद सरकारले खारेज गरेको हो ।
अवैतनिक दूतले पटकपटक आफ्नो ओहोदा र सुविधाको दुरुपयोग गरेको घटना आउन थालेपछि सरकारले उपलब्ध गराउँदै आएको सबै कूटनीतिक सुविधा (निलो प्लेट, निर्वाद सिंहदरबार प्रवेश पास, झण्डाको उपयोग, एअरपोर्टको भीआईपी कक्षलगायत कूटनीतिक उन्मुक्ति) बुधबार खोसेको छ ।
कूटनीतिक उन्मुक्ति लिएर कालोबजारीमा समेत अवैतनिक दूतहरु सक्रिय हुन थालेपछिपरराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर औपचारिक कार्यक्रमको लागि उपलब्ध गराएको सुविधा अन्य समयमा पनि प्रयोग भएपछि सुविधा फिर्ता गरेको हो ।
मन्त्रालयले अर्को सूचना नआएसम्मको लागि उनको पद खारेज गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)ले ज्वरो नाप्ने यन्त्रको अभाव भइरहेका बेला त्यसमा कालोबजारी गर्ने अग्रवाललाई कारबाहीको प्रक्रिया अघि बढेपछि सरकारले यस्तो निर्णय लिएको हो । उनको बारेमा परराष्ट्रमन्त्रालयले सम्बन्धित मुलुकलाई समेत जानकारी गराएको छ ।