आफ्नै निर्णयबाट पछि हट्यो सरकार

-


     मर्दी न्युज    
     चैत्र २७ गते २०७६ मा प्रकाशित


काठमाडौं । लकडाउनमा अलपत्र परेकालाई शुक्रवार र शनिवार काठमाडौंबाट घर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । लकडाउनका बेला काठमाडौंमा अलपत्रलाई बाहिर जान दिने निर्णय बाहिरिएसँगै त्यसको विरोध भएपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरोकारबाला मन्त्रीहरुलाई बोलाएर उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिन निर्देशन दिए । कसरी जान दिने भन्ने गृहकार्य गर्न गृह सचिवलाई भनिएको थियो ।

तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए । मुख्यमन्त्रीसँगै सामाजिक सञ्जालमा समेत उक्त निर्णयको व्यापक विरोध भएको थियो ।

यातायात व्यवसायीहरुले पनि भोलि र पर्सि पठाउन सम्भव नभएको बताएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।