गण्डकी प्रदेशमा विदेशबाट आउनेको संख्या ४ हजार १४६ जना, सबैको परीक्षण गरिने

-


     मर्दी न्युज    
     चैत्र २७ गते २०७६ मा प्रकाशित


पोखरा, २७ चैत । गण्डकी प्रदेशमा चैत ४ गतेदेखि भारतलगायत अन्य मुलुकबाट आएका नागरिकको संख्या ४ हजार १ सय ४६ पुगेको छ ।

विदेशबाट आएका सबैको आरटीडी किटद्वारा परीक्षण गरिने सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर विनोद विन्दु शर्माले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएका छन ।

डाक्टर शर्माका अनुसार गण्डकी प्रदेशमा हालसम्म २ सय ८३ जनाको नमुना संकलन गरिएको मध्ये २१४ जनाको नेगेटिभ, २ जनाको पोजेटिभ देखिएको छ । बाँकी ६७ जनाको नमुना परीक्षणको नतिजा आउन बाँकी छ ।

गण्डकी प्रदेश सरकारले संघिय सरकारमार्फत कोभिड —१९ परिक्षण गर्नका लागि ५ हजार थान आरटीडी किट प्राप्त गरेको डाक्टर शर्माले बताए । यसको शुरुवात बाग्लुङ जिल्लाबाट गरिएको पनि उनले जानकारी गराए ।

आज नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएका डा. तारा पोखरे, मदनकुमार श्रेष्ठ र सुदिप आलेमगर, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्मा, सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखाका डा. रामबहादुर केसी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अर्जुन आचार्य, स्वास्थ्य निर्देशनालयका संयोजक नवराज शर्मा, विश्व स्वास्थ्य संगठनका डा. राजीव लालचन लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको छ ।

बैठकले कोभिड —१९ उपचारको लागि तोकिएको अस्पतालहरुको जनशक्ति, सेवासुविधा तथा स्रोत साधनको नक्सांकन गर्ने र त्यसकै आधारमा जनशक्ति परिचालन गर्ने निर्णय भएको डा. शर्माले प्रेस विज्ञप्ती मार्फत जानकारी गराए ।

गण्डकी प्रदेशको हेल्लो डाक्टर १०९२ कार्यक्रममा हालसम्म ५ सय १३ जनाले चिकित्सकीय परामर्श सेवा लिएको विज्ञप्तिमा उल्लेख छ ।