काठमाडौं, २९ चैत । गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ । दरबन्दी खाली रहेको २ महिनापछि बढुवा गरेको हो ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार १० प्रहरी वरिष्ठ उपरीक्षकलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको दरबन्दी १४ कायम गरेपछि बाँकी १० डीआईजीको लागि कडा प्रतिस्पर्धा भएको थियो । १० डीआईजीको लागि ३४ एसएसपीहरुको कडा प्रतिस्पर्धा थियो ।
नेपाल प्रहरीको वेवसाइटमा प्रकाशित सूची अनुसार बढुवाको १ नम्बरमा घनश्याम अर्याल छन् भने त्यसपछि क्रमशः प्रकाशजंग कार्की र वसन्तकुमार पन्त छन् । चौथो नम्बरमा ईश्वरबाबु कार्की छन् । उनी अहिले मानव बेचविखन अनुसन्धान व्यूरोमा कार्यरत छन् ।
एक वर्षपछि भर्ना भएको टोलीबाट सहकुल थापा पहिलो नम्बरमा बढुवा भएका छन् । उनी अहिले महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत छन् । थापा अघि महाशाखाको नेतृत्व सम्हालेका धिरजप्रताप सिंह आफ्नो ब्याचबाट दोस्रो नम्बरमा बढुवा भएका छन् । यो टोलीका विश्वराज पोखरेल १९ वैशाखमै डीआईजीमा बढुवा भइसकेका हुन् ।
सिंहपछि वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी बढुवा सूचीमा समेटिएका छन् । लामा र धानुकले यसअघि काठमाडौं प्रहरी प्रमुखको नेतृत्व सम्हालिसकेका छन् भने सुवेदी हाल काठमाडौंको नेतृत्व गरिरहेका छन् । अरुणकुमार बिसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत छन् ।
डीआईजीको दरबन्दी घटाउने विषयले प्रवेश पाएपछि लामो समयदेखि बढुवा प्रक्रिया रोकिएको थियो ।