ट्रेकिङ मजदुरहरुलाई राहत वितरण

-


     मर्दी न्युज    
     चैत्र २९ गते २०७६ मा प्रकाशित


तस्विरहरुः गंगा घले

पोखरा, २९ चैत । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीबाट पर्यटन क्षेत्र पनि अछुतो रहेको छैन । यसै सन्दर्भमा पदयात्रा पर्यटन क्षेत्रमा भरिया, सहयोगी तथा पथ–प्रदर्शकको रूपमा काम गर्ने अति विपन्न आर्थिक अवस्थाका ८५ जना मजदुरहरुलाई आज एक कार्यक्रमका बीच राहत वितरण गरिएको छ ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को सल्लाह एवम् मार्गनिर्देशन तथा पोखरा महानगरपालिकाको मजदुर–मैत्री निर्णयबाट प्राप्त उक्त राहत वितरण पोखरा महानगरपालिका– ६ का वडा अध्यक्ष जगतबहादुर पहारीको अग्रसरता तथा वडा सदस्य हरिकृष्ण पहारी, पुष्पा घले पहारी, सामुदायिक प्रहरी जिल्ला समन्वय समितिका अध्यक्ष बिष्णुबहादुर भट्टराई, पर्यटन प्रहरी पोखराका प्रतिनिधिको रोहवरमा राहत वितरण भएको हो ।

नेपाल पर्यटनको अग्रणी संस्था टान पश्चिमाञ्चल क्षेत्रीय संघको नेतृत्व तथा अभिभावकत्वमा भएको उक्त राहात वितरण कार्यक्रमका लागि अध्यक्ष हरि भुजेल, प्रथम उपाध्यक्ष सुशीलराज पौडेल, द्वितीय उपाध्यक्ष धर्मराज पन्थी, सचिव जिवनराज सापकोटा, कोषाध्यक्ष कृष्ण आचार्य, सह–सचिव उदय सुवेदी र कार्यसमितिका सदस्यहरु सक्रियता पूर्वक खटिनुभएको थियो ।

लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थाले पछि वास्तविक समस्यामा परेका मजदुरहरुको नाम सङ्कलन गर्न युनिट्राभ गण्डकी प्रदेशका सचिव राजु तिमिल्सिना, कोषाध्यक्ष अमनसिंह दुलाल त्यसैगरी अखिल नेपाल पर्यटन मजदुर संघका कास्की जिल्ला सचिव विष्णु देवकोटाले यथोचित सहयोग पुर्याउनु भएको थियो ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति भएकाहरु पनि बसेपछि वितरणमा समस्या परेकाले यसतर्फ ध्यान दिंदै युनिट्राभले विशुद्ध रूपमा विपन्न मजदुरहरुको मात्र छनोट गरी राहात वितरण गरिएको थियो ।