देशमा विद्यमान शैक्षिक असमानता कम गर्ने उद्देश्यले वि.सं २०६६ सालमा “समान शिक्षाको समान दायित्य“ भन्ने मुल नाराको साथ पोखराका जुझारु युवाहरूको समूहले समुन्नत नेपाल समूह गठन गरेको थियो । निरज कायस्थको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्यसमिति रहेको उक्त संस्थाले सरकारी विद्यालयको गुणस्तर सुधारको साथै आम विद्यार्थीमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्ने तथा आर्थिक, सामाजिक, मनोवैज्ञानिक आदिको सुक्ष्म अध्ययन तथा विश्लेषण गरी ती पक्षहरुको न्यूनीकरण गर्दै एउटा सक्षम र सबल विद्यार्थी तयार गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको थियो ।
त्यसबेला संस्थाले पहिलो नमुना विद्यालयको रुपमा पोखरा महानगर पालिका वडा न ३ नदिपुरमा रहेको ज्ञानभूमि माविलाई चुनेको थियो । विद्यालयका तत्कालिन प्रधानाध्यापक तथा शिक्षा सुधारक विनोद सुवेदीको सकारात्मक सहयोगले तत्कालिन विद्यालय व्यवस्थापन समितिको सहमतिमा २ वर्षको लागि विद्यालयमा कार्यालय खोल्न पाउने र आफ्नो कार्यक्रम संचालन गर्न पाउने गरि अनुमति प्राप्त गरेको थियो । तर कार्यक्रम प्रभावकारिता र विद्यार्थी र विद्यालयको अनुरोधमा एक वर्ष थप गरि कुल ३ वर्ष कार्यक्रम संचालन गरेको थियो ।
कार्यक्रमको शुरुआतमै संस्थाको निजी खर्चमा २ जना शिक्षाकाको व्यवस्था गरेको थियो । विद्यालयमा कुनै पनि कक्षा खाली भएर खेर जान नदिन संस्थाको शिक्षाकाको व्यवस्था गरेको थियो भने संस्थाले विद्यार्थी सक्षम बनाउन विद्यालय समय पछि अतिरिक्त कक्षा संचालन गरेको थियो ।
यसैगरी संस्थाले विद्यार्थीको स्वास्थ तथा सरसफाईको चेतनास्तर बढाउन विद्यालयमा सरसफाई प्रतियोगिता संचालन गरेको थियोे । जसमा विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई कक्षागत रुपमा सहभागी गराई उत्कृष्टलाई पुरस्कृत गरिएको थियो । निर्णायक मण्डलमा हिमालयन ओपन एकेडेमीका प्रमुख जितेन्द्र थापा र संस्थाका संस्थापक केदार धमला हुनुहुथ्यो । विद्यालयमा खेलकुद कार्यक्रमलाई अगाडि बढाउन संस्थाले विद्यालयमा निःशुल्क करांते प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो । कराँते प्रशिक्षणमा नब्बे विद्यार्थी सहभागी थिए । प्रत्येक शुक्रवार संचालन हुने सो कार्यक्रम सस्थाका संस्थापक तथा कराँते प्रशिक्षक र उहाँका सहयोगीको सहयोगमा संचालन हुने गरेको थियो ।
त्यसैगरी विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन संस्थापक एवम् शिक्षिका बिनु केसी र अन्जना मुल्मीले विद्यार्थीलाई निःशुल्क प्रशिक्षण प्रदान गरेको थियो । यसमा २५ विद्यार्थी सहभागी भएका थिए साथै विद्यार्थीलाई विभिन्न कार्यक्रम एवम् प्रतियोगिताहरुमा सहभागी गराएको थियो ।
विद्यार्थीलाई ट्राफिक सम्बन्धि चेतना बढाउन विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको थियो । तत्कालीन अवस्थामा सामुदायिक विद्यालय कम्प्युटर शिक्षकको अभावमा कम्प्युटर शिक्षा प्रदान गर्न नसकेको समयमा संस्थाले प्रशिक्षक राम श्रेष्ठको सहयोगमा कम्प्युटर कक्षा संचालन गरेको थियो । यसैगरी विद्यालयमा संस्थापक सदस्य लक्षमण तिमिल्सिनाको संयोजकतामा निःशुल्क ट्युसन कक्ष संचालन गरेको थियो । संस्थाका सरोज अधिकारी र शिक्षक कमल भुसालले अध्यापन गराउनु भएको थियो । सस्थाका अर्का सक्रिय सदस्य आमोद श्रेष्ठको अग्रसरतामा विद्यार्थीको स्वास्थलाई ध्यानमा राखी विद्यालय हाताभित्र प्राथमिक स्वास्थ उपचार केन्द्र स्थापना गरेको थियो ।
यसैगरी संस्थाले विद्यालयमा प्राथमिक उपचार प्रदान गरेको थियो । त्यसै विद्यार्थीहरुलाई एचआईभि एड्स सम्बन्धी जनचेतना बढाउन विद्यालयमा अभिमुखीकरण कार्यक्रम संचालन गरेको थियो । विद्यालयमा नियमित रुपमा फुटबल, भलिबल लगायतका खेलहरु खेलाउँदै आएको थियो । विद्यार्थीहरुमाझ साहित्यको विकास गर्न विद्यालय कविता, निबन्ध, कथालेखन तालिम प्रदान गरेको थियो भने विद्यार्थीमाझ कविता, कथा र निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो ।
त्यस्तै संस्थापक गौरब त्रिपाठीको संयोजकत्वमा विद्यालयको हाताभित्र दुई दिने दन्त शिविर संचालन गरेको थियो । त्यसबेला कार्यक्रममा ३ सय विद्यार्थीको दन्त परिक्षण, उपचार गर्नुका साथै विद्यार्थीहरुलाई टुथपेस्ट र ब्रस वितरण गरेको थियोे । विद्यालयका शिक्षक शिक्षिकालाई शिक्षक दिवसको अवसरमा सम्मान कार्यक्रम संचालन गर्दै आएको थियो । संस्थाले आफ्नो कार्यकालमा विद्यार्थीलाई सास्ंकृतिक कार्यक्रम सहभागी गराउनुको साथै प्रतियोगितामा भाग दिलाउने अवसर मिलाएको थियो ।
निजी विद्यालयको स्तर घटाएर हैन सरकारी विद्यालयको स्तर बढाएर समग्र देशको शैक्षिक स्तर उठाउन सकिन्छ भन्ने मान्यताका साथ अघि बढेको समुन्नत नेपाल समुहले आफ्नो नमुना विद्यालयमा एसएलसीको पहिलो ब्याचलाई ह्याण्डल गर्ने मौका पाएको थियो । जसमा अपेक्षित सफलता हासिल भएको थियो । उनाइस विद्यार्थी सहभागी भएकामध्ये १७ जना उच्च अंकका साथ उतीर्ण भएका थिए । संस्थाले विद्यार्थीको मनोगत मनोभाव विकास गराउन शिक्षाविद् डाक्टर गेहेन्द्र भूषण पोख्रेली, पत्रकार एवम् साहित्यकार कमल पौडेल अथक र तत्कालिन कन्जुमार बैंकका प्रबन्धक वीरेन्द्र श्रेष्ठले अध्ययन परामर्श र जीवनमा अध्ययनको महत्वबारेमा कक्षा संचालन गरेको थियो । साथै संस्थाले सम्पुर्ण विद्यार्थीको उत्प्रेरणा बढाउन प्रत्येक त्रैमासिक परीक्षामा सम्पुर्ण कक्षाको प्रथम, द्वितीय र तृतियलाई प्रार्थना समयमा सम्पुर्ण विद्यार्थी माझ पुरस्कार दिंदै आएको थियो । जुन विद्यार्थी माझ लोकप्रिय र प्रभावकारी थियो ।