नेपालमा ८ हजारभन्दा बढीमा कोरोना परीक्षण, १२ जनामा पुष्टि

-


     मर्दी न्युज    
     ३० चैत्र २०७६ मा प्रकाशित


पोखरा, ३० चैत । नेपालमा ८ हजार भन्दा बढी मानिसमा कोरोना भाइरस परीक्षण हुँदा १२ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पीसीआर र र्यापिड किटबाट उपत्यका र उपत्यका बाहिर गरी देशभर ८ हजार ५०५ जनाको नमूना परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा ३७, ४४ र ५५ वर्षीय भारतीय पुरुष छन । उनीहरु तीनै जनाको उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा भइराखेको डा. देवकोटाले जानकारी दिए ।

यसअघि नेपालमा ९ जनामा कोरोना पुष्टि भएको थियो । जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन् । अन्य ८ जनामध्ये चारजनाको धनगढी र दुईदुई जनाको बागलुङ र टेकुमा उपचार भइराखेको छ ।


देशभर अहिलेसम्म ७ हजार ९७३ जना क्वारेन्टाइनमा रहेका छन् भने काठमाडौंमा १५ र उपत्यका बाहिर ७० गरी ८५ जनाको आइसोलेसनमा उपचार भइरहेको प्रवक्ता डा. देवकोटाले बताए ।