कोरोनाविरुद्ध लड्न सबैको सहयोग आवश्यकः मुख्यमन्त्री गुरुङ

-


     मर्दी न्युज    
     १ बैशाख २०७७ मा प्रकाशित


पोखरा, १ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मानवजातिकै अस्तित्वको चुनौती बनेर देखापरेको कोरोना भाइरस विरुद्ध एकताबद्ध भई जुध्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री गुरूङले कोरोना भाइरसविरुद्ध लड्न सम्पूर्ण नागरिकको पूर्ण समर्थन र सहयोग आवश्यक रहेको बताएको हो ।

मुख्यमन्त्री गुरुङले कोरोना भाइरस रोग (कोभिड(१९) विरुद्धको कष्टकर युद्ध लडिरहेका सबैमा नयाँ वर्षको अवसरमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै उनले संक्रमणबाट बच्ने उपायका सम्बन्धमा विश्व स्वास्थ्य संगठन र सरकारले जारी गरेका सूचनाहरुलाई कुनै हेलचक्राईँ नगरी पूर्ण पालना गर्न आग्रह समेत गरेका छन् ।

शुभकामना सन्देशमो भनिएको छ– ‘विश्वसनीय विकल्पको आविष्कार भइनसकेको अवस्थामा रोगको संक्रमणबाट जोगिन पूर्व सतर्कता अपनाउनु सवैका लागि अपरिहार्य हुन गएको छ । यसको लागि सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्दै यस संक्रमणबाट बच्ने उपायका सम्बन्धमा विश्व स्वास्थ्य संगठन र सरकारले जारी गरेका सूचनाहरुलाई कुनै हेलचक्राईँ नगरी पूर्ण पालना गर्नका लागि म सबैमा आग्रह गर्दछु ।‘

गण्डकी प्रदेश सरकार कोभिड–१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि सम्पूर्ण शक्ति, स्रोत र साधनको उच्चतम परिचालन गरी पूर्ण क्षमताका साथ लागिपरेको जनाउँदै मुख्यमन्त्री गुरूङले सबै मिलेर मात्र संक्रमणबाट आफु बच्न सकिने र अरुलाई पनि बचाउन सकिने बताएका छन् ।