लकडाउनका कारण कोही पनि नागरिक भोकै बस्ने अवस्था नआओस्ः प्रमुख शेरचन

-


     मर्दी न्युज    
     वैशाख १ गते २०७७ मा प्रकाशित


पोखरा, १ वैशाख । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले नयाँ वर्ष २०७७ सालको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली एवं गण्डकी प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उनले समृद्धिको साझा लक्ष्य प्राप्त गर्न विकासका आयोजनाहरू अघि बढ्दै गर्दा २०७६ सालको अन्त्यतिर विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण मानव सभ्यतामाथि नै ठूलो चुनौतीका रुपमा आइपरेको बताउँदै लकडाउनका कारण कोही पनि नागरिक भोकै बस्ने अवस्था नआओस् भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रमुख शेरचनले सरकारले घोषणा गरेको लकडाउनले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी देखिएको बताउँदै लकडाउनको पूर्ण पालना नै कोरोना भाइरसबाट जोगिने महत्वपूर्ण उपाय भएको बताएका छन् ।

‘ कोरोना भाइरसको संक्रमणबाट बच्न सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई घरमै बसेर लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दछु । कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर खटिइरहनुभएका स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्दै उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिन अपिल पनि गर्दछु । लकडाउनका कारण कोही पनि नागरिक भोकै बस्ने अवस्था नआओस् भन्नेतर्फ सरकारको ध्यानाकर्षण पनि गर्दछु । यस अवस्थामा कोही पनि नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ घरमै रहन आह्वान गर्दछु’, सन्देशमा भनिएको छ ।

प्रमुख शेरचनले ठूलो संघर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धीलाई सुशासन र समृद्धिमार्फत् सुदृढ बनाउन नयाँ वर्ष ०७७ ले सबैमा थप ऊर्जा प्रदान गरोस् भन्दै राष्ट्रियता र राष्ट्रिय अखण्डताको पूर्ण रक्षा गर्न दृढ संकल्पित हुँदै विश्व मानचित्रमा अंकित हाम्रो स्वाधीन राष्ट्रको रक्षा गर्न दृढ बन्न आग्रह गरिएको छ ।

नयाँ वर्ष २०७७ ले कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई रोक्न विश्वलाई सफलता मिल्नेछ, र, मुलुकमा समृद्धि र दिगो शान्तिका साथ आम नागरिकले स्वस्थ, सुखी र खुशी भएर बाँच्न पाउने प्रमुख शेरचनले विश्वास व्यक्त गरेका छन् ।