
पोखरा, २ वैशाख । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर गरी ५ हजार ४२३ जना संक्रमितको मृत्यु भएको छ । विगतका दिनमा भन्दा मृत्यु हुनेको संख्यामा केही कमी आएको हो । पछिल्लो २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै १ हजार ५३५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७१ हजार ५९१ नयाँ संक्रमितको पहिचान भएको छ । यसमध्ये सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा पछिल्लो २४ घण्टाको अवधीमा २६ हजार ६४१ कोरोनाको नयाँ संक्रमितको पहिचान भएको छ ।
त्यस्तै बेलायतमा थप ४ हजार ३४२ कोरोना संक्रमितको पुष्टि भएका छन् भने फ्रान्समा ४ हजार १८८ संक्रमित थपिएका छन् । स्पेनमा ३ हजार २६८, इटालीमा ३ हजार १५३ जना कोरोना संक्रमित पछिल्लो एकदिनमा फेला परेका छन् ।
अमेरिकामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ लाख ८६ हजार ९४१ रहेको छ । यसमध्ये १२ हजार ७७२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने अमेरिकामा २३ हजार ६४० जनाको मृत्यु भैसकेको छ ।
अमेरिका पछि सबैभन्दा धेरै संक्रमित भएको देशमा स्पेन रहेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ९९ रहेको छ । यसमध्ये ७ हजार ३७१ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्पेनमा हालसम्म १७ हजार ७५६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
त्यस्तै इटलीमा हालसम्म १ लाख ५९ हजार ५१६ कोरोना संक्रमित रहेको छ । कोरोना संक्रमितमध्ये ३ हजार २६० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने इटलीमा हालसम्म २० हजार ४६५ जनाले ज्यान गुमाइसकेका छन् ।
विश्वभर कोरोना संक्रमितको संख्या १९ लाख २४ हजार ३२५ रहेको छ भने ५१ हजार ७४२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ६५५ जनाको मृत्यु भैसकेको छ । विश्वभर ४ लाख ४४ हजार ८३६ जनाको उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
नेपालमा कोरोना संक्रमित हुनेको संख्या १४ पुगेको छ भने १ जना निको भएर घर फर्किसकेका छन् । आइतबार एकैदिन ३ जना र सोमबार दुई जना नयाँ संक्रमित थपिएसँगै आइसोलेसनमा उपचार हुने १३ जना रहेको छ ।