काठमाडौं, २ वैशाख । काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैजनाको कोरोना संक्रमण परीक्षण गरिने भएको छ ।
अपार्टमेन्टमा बस्ने सबैजनाको कोरोना परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजमा जनाएको छ । अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा कोरोना पुष्टि भएपछि त्यहाँ बस्ने सबैजनाको कोरोना परीक्षण गरिने भएको हो ।
संक्रमित हुनेमा ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अर्को एकजनामा भने कोरोना संक्रमण देखिएको छैन ।
त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले फेसबुकमार्फत जानकारी दिएको छ । आरडीटी परीक्षबाट एकै परिवारका तीनजनामा कोरोना संक्रमण देखिएपछि पुनः परीक्षण गर्दा दुईजनामा पोजेटिभ देखिएको मन्त्रालले पुष्टि गरेको छ ।
उनीहरु चैत्र ५ गते बेलायतबाट काठमाडौं आएका थिए । तीनैजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यससँगै नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या १६ पुगेको छ ।