कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, ज्यान गुमाउने १ लाख ३४ हजारभन्दा बढी

-


     मर्दी न्युज    
     ४ बैशाख २०७७ मा प्रकाशित


पोखरा, ४ वैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुने मानिसको संख्या २० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुने मानिसको संख्या २० लाख ५६ हजार ५५ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या ६ लाख ३७ हजार ३५९ पुगेको छ ।

त्यस्तै, अमेरिका पछि बढी संक्रमित हुने देश स्पेन भएको छ । स्पेनका १ लाख ८० हजार ६५९ र इटालीका १ लाख ६५ हजार १५५ मा पनि कोरोनाको संक्रमण भेटिएको छ ।

त्यस्तै, जर्मनीका १ लाख ३४ हजार ७५३, फ्रान्सका १ लाख ३४ हजार ५८२ र बेलायतका ९९ हजार ४८९ मा कोरोना संक्रमण भेटिएको उक्त विश्वविद्यालयले जनाएको छ ।

अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १ लाख ३४ हजार ३५४ पुगेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा अहिलेसम्म २८ हजार ३६४ मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ भने इटालीमा पनि २१ हजार ६४५ मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै, स्पेनमा १८ हजार ८१२ मानिसको मृत्यु भइसकेको छ भने फ्रान्समा १७ हजार १८८, बेलायतमा १२ हजार ८९४ र जर्मनीमा ३ हजार ८०४ मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

विश्वभर अहिलेसम्म पाँच लाख १० हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।