आरडीटीबाट परीक्षण गर्दा पोजेटिभ देखिएकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

-


     मर्दी न्युज    
     ४ बैशाख २०७७ मा प्रकाशित


पोखरा । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट दुई दुई पटक परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएकी पोखराकी एक महिलाको पीसीआर प्रविधिमा भने कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलवार रगतमा एन्टीबढी परीक्षण गर्दा पोजेटिभ नतिजा आएपछि उनी कोरोना भाइरस संक्रमित भएको आशंका गरिएको थियो ।

पोखरा महानगरपालिकाका १० र १२ वडाका ३४ जनाको आरडीटी विधिबाट नमुना परीक्षण गर्ने क्रममा पोखरा १२, ढिकालेथरकी एक महिलामा एन्टिबडी पोजेटिभ देखिएको भए पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले बताएका छन् ।

ती महिला करिब एक महिना अघि दुबईबाट नेपाल फर्किएकी थिइन् ।