
पोखरा, ५ वैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुने मानिसको संख्या २१ लाख नाघेको छ । वल्र्डमिटरको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुने मानिसको संख्या २१ लाख ८१ हजार ३०८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा झण्डै एक लाख नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर ९५ हजार २२ जना थप संक्रमित भएका छन् ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या ६ लाख ७७ हजार ५७० पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २९ हजार ५६७ जना नयाँ संक्रमित थपिएको हो ।
त्यस्तै, अमेरिका पछि बढी संक्रमित हुने देश स्पेन भएको छ । स्पेनका १ लाख ८४ हजार ९४८ र इटालीका १ लाख ६८ हजार ९४१ मा पनि कोरोनाको संक्रमण भेटिएको छ ।
त्यस्तै, फ्रान्समा पछिल्लो २४ घण्टामा १७ हजार १६४ थप संक्रमित भएका छन् । योसँगै फ्रान्समा १ लाख ६५ हजार २७ जना कोरोनाबाट संक्रमित भएका छन् । त्यस्तै जर्मनीका १ लाख ३७ हजार ६९८ र बेलायतका १ लाख ३ हजार ९३ मा कोरोना संक्रमण भेटिएको छ ।
अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या विश्वभर गरी १ लाख ४५ हजार ४७० पुगेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा अहिलेसम्म ३४ हजार ६१७ मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ भने इटालीमा पनि २२ हजार १७० मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।
त्यस्तै, स्पेनमा १९ हजार ३१५ मानिसको मृत्यु भइसकेको छ भने फ्रान्समा १७ हजार ९२०, बेलायतमा १३ हजार ७२९ मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
विश्वभर ५६ हजार ६०२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने अहिलेसम्म पाँच लाख ४७ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।