विपन्नलाई घरमै राहत, खानै नपाउने अवस्था आए वडामै खानाको व्यवस्था

-


     मर्दी न्युज    
     ५ बैशाख २०७७ मा प्रकाशित


पोखरा, ५ वैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन जारी ‘लकडाउन’को समयमा खाद्यान्नको अभावमा पोखरा महानगरपालिका भित्र कोही पनि भोकभोकै नपरुन् भनेर पोखरा महानगरपालिकाले ‘क्विक रेस्पोन्स टोम’ बनाएर राहत वितरण सुरु गरेको छ ।

गत चैत १९ गतेको नगर कार्यपालिका बैठकले बनाएको सेवाग्राही छनोट मापदण्ड भित्र परेका पोखरा महानगर भित्रका १९ हजार २ सय २० घर परिवारलाई राहात वितरण गरिसकेको छ ।

महानगरले तत्काल खाद्यान्नको अभाव भएमा र यसअघि राहत नपाएकाहरुले सेवा लिन सक्ने बताउँदै पोखरा महानगरपालिकाको हटलाइन नम्बर ११८१ नम्बर फोन गरेर राहतका लागि नाम टिपाउन सकिने बताएको छ ।

राहत नपाएको गुनासोको बारेमा छानबिन गरी राहत उपलब्ध गराउन पर्ने अवस्था भएकाहरुलाई घरघर र बसेकै ठाउँमा पुगेर महानगरले राहत वितरण गर्ने प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।

अति विपन्न र दैनिक ज्याला मजदुरी गरी जीविका निर्वाह गर्ने परिवारलाई चुल्हो बाल्ने अवस्था नभएकालाई भोलिबाट महानगरपालिकाले खाना खुवाउने व्यवस्था गरेको मेयर जिसीले जानकारी दिए ।

‘लकडाउनका कारण खाद्यान्न अभाव भई चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई आवश्यकता आधारमा वडा कार्यालयमार्फत खाना खुवाउने व्यवस्था सुरु गरेको जानकारी गराउँदै पायक पर्ने ठाउँमा खाना खान अनुरोध छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

मेयर जिसीले बाहिराको उत्पादनभन्दा पोखरा नगरभित्रका किसानले गरेका उत्पादनलाई प्राथमिकता दिन पनि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

उनले नगरभित्रका किसानले उत्पादन गरेका तरकारीलगायत खाद्यान्न बिक्री नभएको भए महानगरको कृषि महाशाखामार्फत व्यवस्था मिलाएको पनि जानकारी गराए ।