कोरोनाबाट पछिल्लो २४ घण्टामा ८ हजार ६७२ को मृत्यु (अपडेट)

-


     मर्दी न्युज    
     ६ बैशाख २०७७ मा प्रकाशित


सांकेतिक तस्विर

पोखरा, ६ वैशाख । कोरोना भाइरस (कोभिड–१९) ले पछिल्लो २४ घण्टामा ८ हजार ६७२ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा २ हजार ५३५ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा धेरै नागरिक गुमाउनेमा बेलायतमा ८४७, फ्रान्समा ७६१, स्पेनमा ६८७ तथा इटालीमा ५७५ जनाको मृत्यु भएको छ ।

चीनले कोरोनाको उद्गम स्थल सहर वुहानका अस्पताल बाहिर भएका मृत्युहरूको अद्यावधिक विवरण भन्दै त्यहाँ १ हजार २९० जना ज्यान गुमाउनेहरूको तथ्याङ्कमा थप गरीएको छ ।

पछिल्लो २४ घण्टामा ८६ हजार ५२४ कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यसमध्ये अमेरिकामा मात्रै ३२ हजार १६५ संक्रमितको पुष्टि भएको छ ।

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार नाघेको छ । शनिवार बिहानसम्म कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १४५ छ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ३७ हजार १५४ जनाको ज्यान गएको छ । इटालीमा २२ हजार ७४५, स्पेनमा २० हजार २, फ्रान्समा १८ हजार ६८१ तथा बेलायतमा १४ हजार ५७६ को कोरोना संक्रमणको कारण ज्यान गइसकेको छ ।

१५ लाख २३ हजार १७३ कोरोना संक्रमितको अहिले विश्वका विभिन्न देशमा उपचार भइरहेको छ । यसमध्ये ५६ हजार ९६३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । बाँकीको अवस्था मध्यम रहेको छ ।

चीनको वुहानबाट कोरोनाको संक्रमण सुरु भए यता अहिलेसम्म विश्वमा २२ लाख ४८ हजार ८९१ जनामा यसको संक्रमण देखिसकेको छ ।

नेपालमा कोरोनाले अहिलेसम्म कसैको ज्यान नगए पनि ३० जनामा संक्रमण देखिसकेको छ । एक जना निको भएर घर फर्किसकेका छन् भने बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।