
सांकेतिक तस्विर
पोखरा, ८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । सोमवार बिहानसम्म अमेरिकामा ४० हजार ६६५ जनाको कोरोनाबाट मृत्यु भइसकेको तथ्यांक जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।
अमेरिकाको न्यूयोर्कमा मात्र १४ हजार ४५१ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।
त्यस्तै अमेरिका पछि धेरै नागरिक गुमाउनेमा इटली पुगेको छ । इटलीमा हालसम्म २३ हजार ६६० जनाको संक्रमणबाट मृत्यु भएको छ ।
त्यस्तै स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ७१८ र बेलायतमा १६ हजार ६० जनाको मृत्यु भएको छ ।
विश्वभर संक्रमण भई मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १०६ पुगेको विश्वविद्यालयले जनाएको छ ।
विश्वभर संक्रमितको संख्या २४ लाखभन्दा बढी पुगेको छ । सोमवार बिहानसम्म २४ लाख २ हजार ७६ जनामा संक्रमित भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा छ ।
पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २४ लाख नाघेको हो ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या ७ लाख ५९ हजार ८६ पुगेको छ ।
त्यस्तै, अमेरिका पछि बढी संक्रमित हुने देश स्पेन भएको छ । स्पेनका १ लाख ९८ हजार ६७४ र इटालीका १ लाख ७८ हजार ९७२ मा पनि कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।
त्यस्तै, फ्रान्समा १ लाख ५४ हजार ९७३ जना कोरोनाबाट संक्रमित भएका छन् । त्यस्तै जर्मनीका १ लाख ४५ हजार १८४ र बेलायतका १ लाख २१ हजार १७२ मा कोरोना संक्रमण भेटिएको छ ।
विश्वभर ५४ हजार २२५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने अहिलेसम्म ६ लाख २३ हजार ९०३ जना संक्रमित निको भइसकेका छन् ।
नेपालमा ३१ जना संक्रमित भएकोमा ४ जना निको भएर घर फर्किसकेका छन् । संक्रमित २७ जनाको विभिन्न अस्पतामा उपचार भइरहेको छ ।