
खेम गुरुङ
पोखरा, ८ वैशाख । नेपालमा धेरैजसो कार्यक्रममा फूल नभई हुँदैन । चाहे सुख होस् वा दुःख हरेक कार्यका लागि फूल चाहिन्छ । उद्घाटन होस वा खुसी व्यक्त गर्न होस् वा नयाँ जीवनको सुरुवात फूलको बुकेले महत्वपूर्ण भूमिका खेल्छ ।
पोखरा तथा आसपासका क्षेत्र गरी यहाँ करिब ४०÷४५ वटा नर्सरी भएको बताइन्छ । पुष्प व्यवसायीले नर्सरी तथा बुके तयार गर्ने दुईवटा व्यवसायलाई सम्बोधन गर्छ । नयाँ फूल उमार्ने तथा ती फूलबाट सुन्दर बुके तयार गर्ने कार्यलाई पुष्प व्यवसाय अन्तर्गत राख्न सकिन्छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अधिकांश देशमा बन्दाबन्दी (लकडाउन) छ । नेपालमा पनि कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन आज २८ औं दिन पुगेको छ । देश लकाउन भएसँगै यसको प्रभाव विभिन्न ठाउँमा देखिएको छ ।
नेपालमा अहिले फूल फूल्ने मुख्य सिजन हो । लकडाउनका कारण पोखराका पुष्प व्यवसायीहरु यतिखेर फूल टिपेर गाड्न थालेका छन् । फूल गाडेर मल बनाउन थालेको सिजनल मनकामना नर्सरीका दिलबहादुर गुरुङले बताए । विगत १६ वर्षदेखि नर्सरी सञ्चालन गर्दै आएका उनले एक सिजनका लागि करिब डेढ दुई लाख खर्च गर्नुपर्ने बताए । बीउविजन, गमला, मललगायतमा खर्च गर्नुपर्छ । त्यसबाट ५÷६ लाख आम्दानी हुने पनि गुरुङले बताए । यतिखेर फूलेको फूल टिपेर गाड्नुको विकल्प नरहेको उनले बताए ।

त्यस्तै मर्कामा परेका छन् अर्का पुष्प व्यवसायी काशीराम गुरुङ । काठमाडौं हुँदै पोखरामा आई गोरखा तमु नर्सरी नामबाट व्यवसाय सञ्चालन गर्दै आएका काशीराम गुरुङले मासिक ५÷६ लाख आम्दानी गरेको बताउँछन् । यतिबेला उनले आम्दानीको सट्टा घाटा व्यहोर्नु परेको छ । एक डेढलाख बीउमा गरेको लगानी र त्यसबाट नर्सरीमा फूलेको फूल पुरै फाल्न परेको मर्दीन्यूजलाई बताए ।
त्यस्तै विगत १० वर्षदेखि पुष्प व्यवसाय गरी आएका सुरेश राजवंशीको पनि अवस्था उस्तै छ । कम्तीमा पनि दैनिक ५÷६ हजार आम्दानी गर्ने उनले फूलबाट आम्दानीको सट्टा नर्सरीको फूल मल बनाउन गाड्न परेको बताए ।

सरकारले अहिले व्यवसायीलाई सहयोग गर्न सक्ने अवस्था नभएको काशीराम गुरुङले बताए । सरकारले बैंक लोनलाई सफ्ट र व्याजमा कमी गर्न पहल गरेमा व्यवसायीहरुलाई राहात हुने बताए । तर, सरकारले यतिबेला कोरोना रोकथामका लागि नै सबै शक्ति खर्चिनु परेकाले अनुदानको आशा त्यति नगरेको पनि उनीहरुले बताए । तर कोरोना रोकिएर सामान्य अवस्थामा आएपछि आफूहरुले सरकारसँग कुरा गर्ने बताउनुभयो ।

नेपालमा पुष्प व्यवसायमा छ सयभन्दा धेरै भएको अनुमान छ । यस व्यवसायमा १४ हजारभन्दा बढीले रोजगार पाएको व्यवसायीहरु बताउँछन् भने दैनिक दुई करोड रुपैयाँभन्दा बढीको फूल नेपालमा उत्पादन हुने बताउँछन् ।
कोरोनाको जोखिम न्यूनिकरणका लागि देश लकडाउनको अवस्था भएसँगै यसको प्रभाव विभिन्न ठाउँमा देखिएको हो । लक डाउनले गर्दा पुष्प व्यवसाय संकटमा परेको हो ।

