लकडाउनमा आन्तरिक पर्यटक हिमालतिर

-


     मर्दी न्युज    
     वैशाख ८ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा । पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटनमा प्रसिद्धि कमाएको मर्दि हिमाल पदमार्गमा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ ले २७ दिन यता मुलुक बन्दाबन्दीमा छ । पढाई, जागिर तथा अवसरको खोजिमा शहरको भिडमा रहेका समूह अहिले आ–आफ्नै थातथलोतर्फ फर्किएका छन् भने कतिपय लामो पैदलयात्रा गरि फर्कने क्रममा विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका छन् । धेरैजसो गाउँपालिका गौंडा तथा बाटाहरु अहिले बन्द अवस्थामा छन् र समुदायहरु घर भित्रै सीमित रहेका भएपनि कास्कीको माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाका केही वडाका व्यक्तिहरु मर्दि हिमाल पदयात्रामा भेटिएका छन् ।

‘करिब एक महिना लामो बन्दाबन्दीमा घरमा बस्दा अत्यास लागी आफ्नै क्षेत्रमा रहेको पर्यटकीय गन्तव्यमा हिमश्रृङ्खालको नजिकबाट दृश्यावलोकन गर्ने, लालीगुँरासका जंगलमा रमाउने र हिउँको अनुभव गर्ने उद्देश्यले पदयात्रा गरिएको हुन सक्छ तर सरकारले जोखिम रोक्न गरेको बन्दाबन्दीमा यसरी यात्रा गर्दा भिडभाड बढ्ने तथा धेरै ब्यक्तिहरुसँग भेट भई झनै जोखिम बढेको छ’– मर्दि ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका निवर्तमान अध्यक्ष तथा पर्यटन व्यवसायी सुदिप गौतमले बताउनु भयो ।

कोभिड–१९ को पहिलो र प्रत्यक्ष असरमा परेको अनौपचारिक क्षेत्र पर्यटन व्यवसायमा होटल, रेष्टुरेण्ट, ट्राभल्स, माउण्टेनरिङ, ट्रेकिङ, र्याफ्टिङ व्यवसाय यतिबेला चौपटमा परेको छ जसले गर्दा पर्यटन क्षेत्र पुनजीर्वित तथा पहिलाकै अवस्थामा आउन केहि वर्ष लाग्नेमा कुनै द्धिविधा नरहेको छ ।