काँग्रेस पदाधिकारी बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

-


     मर्दी न्युज    
     वैशाख ९ गते २०७७ मा प्रकाशित


काठमाडौँ । सरकारले सोमबार दुईवटा अध्यादेश जारी गरेपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारीको बैठक बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बस्ने बैठकमा सरकारले सोमबार दुई अध्यादेश जारी गरेको सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

सरकारले सोमबार संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकोप्रति काँग्रेसले असहमति जनाएको छ । सरकारको उक्त कदमपछि कसरी अघि बढ्ने भन्ने सम्बन्धमा बैठकमा छलफल हुने बताइएको छ ।

सभापति देउवाले सोमबार नै एक वक्तव्यमार्फत विधेयक तत्काल फिर्ता लिन माग गर्दै कोरोनाबाट जनताको जीवनरक्षामा सम्पूर्णरूपले केन्द्रित गर्न अपिल गरेका छन् ।