
काठमाडौँ । नेकपा नेता माधवकुमार नेपालले पार्टीको एकतामा आघात पुग्नसक्ने काम–कुरा कसैले पनि गर्न नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री नेपालले अहिलेको मूल जिम्मेवारी कोरोना महामारीविरुद्ध लड्नु भएको भन्दै यसबाट ध्यान अन्यत्र मोड्ने काम गर्नु नहुने पनि बताएका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले विज्ञप्तिमार्फत भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहींबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने काम–कुरा हुनुहुँदैन ।’
उनले सरकारले ल्याएको अध्यादेशबारे उल्लेख नगरी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिष्ट आन्दोलनका विगतमा टुट–फुट र विभाजनका नकारात्मक अनुभवबाट पाठ सिक्दै हामीले दुई वर्षअघि गरेको पार्टी एकतालाई अझ सुदृढ, दीगो र बलियो बनाउनु यतिबेला सबै नेता कार्यकर्ताको गहन जिम्मेवारी हो । बलियो र एकताबद्ध पार्टीबाट मात्रै मुलुकको आमूल परिवर्तनको नेतृत्व गर्न र जनताले सुम्पेको जिम्मेवारी कुशलताका साथ पूरा गर्न सकिन्छ ।’
‘व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहम्बाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविशवासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो भन्ने कुरा म स्मरण गराउन चाहन्छु,’ उनले विज्ञप्तिमा भनेका छन् ।
नेता नेपालले पार्टीका सबै नेता कार्यकर्तालाई पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्न पनि आव्हान गरेका छन् ।
पार्टी एकतालाई अझ सुदृढ, दीगाे र बलियाे बनाउनु यतिवेला सवै नेता- कार्यकर्ताकाे गहन जिम्मेवारी हाे । pic.twitter.com/b59u7F0dQg
— Madhav Kumar Nepal (@ncp_madhavnepal) April 21, 2020