अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो

-


     मर्दी न्युज    
     १० बैशाख २०७७ मा प्रकाशित


पोखरा, १० वैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा संक्रमित हुने मानिसको संख्या ८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा मात्र यो भाइरसबाट संक्रमित हुने मानिसको संख्या ८ लाख २४ हजार १४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकमा २ हजार ८०४ जना संक्रमितको मृत्यु भएका छन् । यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४४ हजार ९९९ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै, अमेरिका पछि बढी संक्रमित हुने देश स्पेन भएको छ । स्पेनका २ लाख ४ हजार १७८ र इटालीका १ लाख ८३ हजार ९५७ मा पनि कोरोनाको संक्रमण भेटिएको छ ।

त्यस्तै, फ्रान्समा १ लाख ५९ हजार २९९ जना कोरोनाबाट संक्रमित भएका छन् । त्यस्तै जर्मनीका १ लाख ४८ हजार ४५३ र बेलायतका १ लाख ३० हजार १७२ मा कोरोना संक्रमण भेटिएको छ ।

अहिलेसम्म कोरोना भाइरसको संक्रमितको संख्या विश्वभर गरी २५ लाख ६१ हजार ९१५ पुगेको छ । विश्वभर ५७ हजार २५४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने अहिलेसम्म ६ लाख ९० हजार २२६ संक्रमित निको भइ घर फर्किसकेका छन् ।

नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ भने ५ जना निको भएर घर फर्किसकेका छन् ।