
पोखरा, १० वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार नाघेको छ । बुधवार बिहानसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार २०० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।
कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४४ हजार ९९९ जनाको ज्यान गएको छ । अमेरिकापछि धेरै ज्यान जाने देशमा इटली छ । इटलीमा २४ हजार ६४८ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै स्पेनमा २१ हजार २८२, फ्रान्समा २० हजार ७९६ तथा बेलायतमा १७ हजार ३३७ जनाको ज्यान गइसकेको छ ।
नेपालमा भने कोरोनाका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म ४२ जनामा संक्रमण देखिएको छ । यसमध्ये ४ जना निको भएर घर फर्किसकेका र बाँकीको उपचार भइरहेको तथा अवस्था सामान्य रहेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।