अन्ततः एक भए राजपा र समाजवादी

-


     मर्दी न्युज    
     ११ बैशाख २०७७ मा प्रकाशित


समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने चुनाव चिह्न भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति गरिएको छ भने पार्टीको झन्डा समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङ्गको बीचमा तारा हुनेछ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा राजपा अध्यक्ष मण्डलका दुई नेता राजकिशोर यादव र अनिल झाले चाहिँ हस्ताक्षर गरेका छैनन्।

पार्टी एकता समानताको आधारमा हुने सहमतिपत्रमा उल्लेख छ ।

सरकारले सोमबार मात्र पार्टी फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको थियो र समाजवादी पार्टीको एउटा समूह अलग गराउन चाहेको थियो । त्यसलाई रोक्ने प्रयाससँगै दुई दलले एकता वार्तालाई टुंगोमा पुर्‍याएका हुन् ।

स्रोतका अनुसार नेतृत्वको विषय टुंगिएको छैन । तर दुवै पार्टीका नेताहरुले यसमा समस्या नहुने बताएका छन् ।

अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छन् भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन् ।

पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।